कांग्रेसमा एकता आवश्यक: अर्जुननरसिंह केसीको आह्वान
चितवन, ०५ बैशाख । अर्जुननरसिंह केसी ले नेपाली कांग्रेस भित्र सबैको प्राथमिकता पार्टी एकतामा केन्द्रित हुनुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत् उनले सर्वोच्च अदालत बाट विशेष अधिवेशनको वैधता टुंगो लागिसकेको अवस्थामा अब दम्भ, अहंकार वा शक्ति प्रदर्शनको आवश्यकता नरहेको स्पष्ट पारे। उनका अनुसार अहिलेको मुख्य ध्यान पार्टीलाई एकीकृत र सुदृढ बनाउनेतर्फ हुनुपर्छ।
केसीले लोकतान्त्रिक पार्टीमा विचार–विमर्श र मतभेद स्वाभाविक हुने उल्लेख गर्दै संवाद र सहमतिमार्फत् सबै पक्षलाई समेट्दै आगामी १५औं महाधिवेशनलाई एकता अधिवेशनका रूपमा सफल बनाउनुपर्नेमा जोड दिएका छन्।
उनले असहमतिमा रहेका नेताहरूलाई समेट्दै साझा एजेन्डा तय गर्न, व्यक्तिगत विवादभन्दा विधि, प्रक्रिया र संस्थागत हितलाई प्राथमिकता दिनुपर्ने संस्कार विकास गर्नुपर्ने बताएका छन्। साथै, वर्तमान चुनौतीहरूको सामना गर्न सक्षम, बलियो र एकीकृत कांग्रेस निर्माण आजको आवश्यकता भएको उनको भनाइ छ।
केसीका अनुसार यस्तो लक्ष्य हासिल गर्न नेतृत्वले उदारता, सहिष्णुता र समावेशी निर्णय प्रक्रियालाई अझ प्रभावकारी बनाउन जरुरी छ।























