इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं
चितवन, ०५ बैशाख । राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान ले इन्धनको हालैको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ।
काठमाडौं मा आयोजित पत्रकार सम्मेलनमा महाअभियानका संयोजक दुर्गा प्रसाईं ले एक हप्ताभित्र मूल्यवृद्धि फिर्ता नभए चरणबद्ध आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन्।
प्रसाईंले विद्यार्थी संगठनहरूलाई खारेज गर्ने प्रयास नगर्न सरकारलाई सचेत गराउँदै, सामाजिक तथा राष्ट्रिय मुद्दामा आवाज उठाउन यस्ता संगठनको आवश्यकता रहने बताए। “विद्यार्थी संगठन किन चाहिने रहेछ भने आवाज उठाउन चाहिने रहेछ,” उनले भने।
उनले विगतमा सामान्य दुई रुपैयाँ मूल्यवृद्धिमा समेत आन्दोलन भएको स्मरण गर्दै अहिले ठूलो परिमाणमा मूल्य बढ्दा पनि विद्यार्थी संगठनहरू मौन बसेको आरोप लगाए।
त्यस्तै, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट प्रतिपक्षीको भूमिका अपेक्षा गरिएको भए पनि सरकारमै सहभागी भएपछि संसद् प्रतिपक्षविहीन बनेको उनले टिप्पणी गरे। गरिब नागरिकमाथि सरकारले अन्याय गर्दा पनि प्रतिपक्षी दलले आवाज उठाउन नसकेको उनको आरोप थियो।
प्रसाईंका अनुसार निर्वाचनपछिको अवस्थाले अधिकांश दलहरू संकटमा छन् र केही दल फुटको संघारमा पुगेकाले नागरिकको पक्षमा सशक्त आवाज उठाउन नसकेको स्थिति बनेको छ। साथै, सरकारको विकासका कामहरू वास्तविकताभन्दा सामाजिक सञ्जालमै सीमित रहेको उनको दाबी छ।


























