राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान खारेज नगरी सुदृढीकरण गर्ने प्रधानमन्त्रीको स्पष्टता
चितवन, ०८ बैशाख । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकायहरूलाई खारेज गर्नुको सट्टा सुधारमार्फत सुदृढ बनाई सरकारको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने स्पष्ट पारेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोगका पदाधिकारी तथा कर्मचारीहरूसँग भएको छलफलमा उनले योजना निर्माण र नीतिगत अनुसन्धान व्यवस्थित भए मात्र सेवा प्रवाह प्रभावकारी हुने बताए। यी निकायहरूलाई सुधार गर्न सके सरकार सञ्चालनमा ठूलो सहयोग पुग्ने उनको भनाइ थियो।
नीति अनुसन्धान प्रतिष्ठानका सन्दर्भमा प्रधानमन्त्री शाहले विज्ञता र गहिरो अध्ययनको आवश्यकता औंल्याउँदै सरकारले प्राज्ञिक अनुसन्धानलाई पूर्ण रूपमा ग्रहण गर्ने बताए। उनले कुनै बहानाबाजी नगरी नतिजामुखी काम गर्न निर्देशन दिँदै ठोस योजना र प्रभावकारी कार्यान्वयनमा जोड दिए।
मन्त्रालयहरूबीच समन्वयको अभावको तर्क स्वीकार्य नहुने बताउँदै उनले बजेट वा कानुनी जटिलतालाई बहानाका रूपमा प्रयोग नगर्न सचेत गराए। सुधार र अनुसन्धानमार्फत मात्र देशको समृद्धि सम्भव हुने उनको भनाइ थियो।
सो अवसरमा अर्थमन्त्री स्वर्णिम वाग्लेले सुधारलाई अवसरका रूपमा लिनुपर्ने बताउँदै विज्ञहरूको ज्ञानलाई नीति र बजेटमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए। आयोगका पदाधिकारी र प्रतिष्ठानका कर्मचारीहरूले पनि आफ्ना काम, चुनौती र थप स्रोतसाधनको आवश्यकताबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।


























