नेप्से १७ अंकले घट्यो, होटल–पर्यटन समूहमा सबैभन्दा ठूलो गिरावट
चितवन, १० बैशाख । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घट्दै १७.०१ अंकले ओरालो लागेर २७८७.१५ बिन्दुमा बन्द भएको छ।
आजको कारोबारमा ३४८ कम्पनीका १ करोड १३ लाख ७५ हजार ६९९ कित्ता सेयर किनबेच भएका छन्। यसबाट कुल ५ अर्ब ९ करोड ५९ लाख ५ हजार ७५७ रुपैयाँ बराबरको कारोबार भएको छ।
बजारमा अधिकांश उप–सूचकहरू घटेका छन्। होटल तथा पर्यटन समूह सबैभन्दा बढी १.४२ प्रतिशतले घट्दा जलविद्युत १.०५ प्रतिशत, फाइनान्स १.०६ प्रतिशत र बैंकिङ ०.७७ प्रतिशतले गिरावट देखिएको छ।
तर, उत्पादन तथा प्रशोधन ०.६० प्रतिशत, ट्रेडिङ ०.४३ प्रतिशत र म्युचुअल फण्ड ०.०५ प्रतिशतले बढेका छन्।
आज पाल्पा सिमेन्ट र शिखर पावर लिमिटेडको सेयर मूल्य १४.९९ प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.२४ प्रतिशतले उकालो लागेको छ। यता, सूर्यकुण्ड हाइड्रोपावरको सेयर मूल्य ११.७९ प्रतिशतले घट्दै सबैभन्दा बढी गुमाउने कम्पनी बनेको छ।























