नर्वेमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने तयारी
चितवन, ११ बैशाख । नर्वे सरकारले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने कानुन ल्याउने तयारी गरेको छ। यससम्बन्धी विधेयक चालु वर्षको अन्त्यसम्म संसद्मा पेस गरिने जनाइएको छ।
नयाँ कानुनअनुसार सामाजिक सञ्जाल कम्पनीहरूलाई प्रयोगकर्ताको उमेर प्रमाणीकरण गर्ने जिम्मेवारी दिइनेछ। प्रधानमन्त्री जोनास गाहर स्टोएरेले बालबालिकाको डिजिटल सुरक्षा सुनिश्चित गर्न यो कदम चालिएको बताएका छन्।
उनका अनुसार बालबालिकाको जीवन खेल, मित्रता र दैनिक गतिविधिमा केन्द्रित हुनुपर्ने भए पनि एल्गोरिदम र स्क्रिनको प्रभाव बढ्दै गएको छ। सुरक्षित बाल्यकाल सुनिश्चित गर्नु सरकारको प्राथमिकता रहेको भन्दै उनले विधेयक २०२६ को अन्त्यसम्म पारित गर्ने लक्ष्य राखिएको बताए।
यद्यपि कुन–कुन सामाजिक सञ्जाल प्रतिबन्धको दायरामा पर्नेछन् भन्नेबारे सरकारले स्पष्ट पारेको छैन।

























