सीता जयन्तीमा राष्ट्रपति पौडेलको शुभकामना: सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ गर्न आह्वान
चितवन, १२ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले सीता जयन्तीको अवसरमा सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै सामाजिक सद्भाव र सुसंस्कृत समाज निर्माणमा निरन्तर प्रेरणा मिलोस् भनी कामना गरेका छन्। राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले सबै नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन्। उनले मातृशक्ति सीता मिथिला भूमि नेपालकी सुपुत्री हुनु नेपालीका लागि गौरवको विषय भएको उल्लेख गरेका छन्।
माता सीतालाई पतिव्रता, धैर्य, सहनशीलता र उदारताकी प्रतिमूर्तिको रूपमा स्मरण गर्दै राष्ट्रपति पौडेलले मिथिलाकालीन सभ्यतादेखि नै महिलाको सम्मान र उच्च स्थानको मार्गदर्शन गर्ने आदर्श नारीको रूपमा उनको विशेष महत्व रहेको बताएका छन्।
सीता जयन्तीका अवसरमा देशभरका राम–जानकी मन्दिर तथा जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजा–अर्चना गरी यो पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै आएको छ।























