मिथिलामा जानकी नवमीको उल्लास: धार्मिक अनुष्ठान र सांस्कृतिक उत्सव
चितवन, १२ बैशाख । मधेसको महोत्तरीसहित प्राचीन मिथिलाक्षेत्रमा आज जानकी नवमी पर्व धार्मिक श्रद्धा र उल्लासका साथ मनाइँदैछ। वैशाख शुक्ल नवमीका अवसरमा सीता जयन्तीको रूपमा मनाइने यो पर्वलाई मिथिलामा विशेष महत्वका साथ हेरिन्छ। चन्द्रमासको वैशाख शुक्ल नवमी तिथिमा
आदर्श नारी सीता जन्मिएको विश्वासका आधारमा यस दिनलाई जानकी प्रकाट्य दिवसका रूपमा श्रद्धापूर्वक मनाइन्छ। मिथिला क्षेत्रमा वैशाख शुक्लपक्ष सुरु भएदेखि नै नौ दिनसम्म विविध धार्मिक अनुष्ठान, कथा–प्रवचन र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन हुने परम्परा रहिआएको छ। मटिहानीस्थित
लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा. रवीन्द्रदास वैष्णवका अनुसार सीता मिथिलाकी सुपुत्री भएकाले यो पर्व यहाँ विशेष भावनात्मक र सांस्कृतिक महत्व बोकेको छ। सीतालाई जानकी, वैदेही, जनकनन्दिनी लगायत अनेक नामले श्रद्धापूर्वक स्मरण गरिन्छ।
यस अवसरमा मिथिलाका मठ–मन्दिरहरूमा भजन, कीर्तन, सत्सङ्ग, रामायण पाठ तथा रामलीला र झाँकी प्रदर्शन भइरहेका छन्। जनकपुरधामस्थित जानकी मन्दिरसहित मटिहानी, जलेश्वर, बर्दिबास लगायतका स्थानमा विशेष पूजा–अर्चना भइरहेको छ। पौराणिक विश्वासअनुसार राजा जनकले हलो जोत्ने क्रममा सीता भूमिबाट प्रकट भएकी थिइन्। यसै कथाका आधारमा जानकी नवमीलाई मिथिलाको धार्मिक र सांस्कृतिक गौरवसँग जोडिएको पर्वका रूपमा मनाइन्छ।
यसैगरी, पर्वका अवसरमा व्रत बस्ने परम्परा पनि रहिआएको छ, जुन एक अहोरात्र पछि सम्पन्न गरिन्छ। मिथिलामा आज साँझ दीपावलीसहित विशेष उत्सव मनाइने तयारी गरिएको छ।
























