ओमानविरुद्ध टस जित्दै नेपालले रोज्यो पहिले ब्याटिङ, अघिल्लो हारको बदला लिने लक्ष्य
चितवन, २२ बैशाख । आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएई सहभागी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कप्तान रोहित पौडेलले टस जित्दै ब्याटिङ रोजेका हुन्।
अघिल्लो भेटमा डीएलएस विधिबाट १०२ रनको फराकिलो हार बेहोरेको नेपाल आजको खेलमा त्यसको बदला लिने लक्ष्यमा छ। आगामी साता अमेरिका र स्कटल्यान्डसँग हुने महत्वपूर्ण खेलअघि लय समात्न पनि नेपालका लागि यो खेल निर्णायक मानिएको छ।
अंकतालिकामा ओमान २७ खेलबाट ३१ अंकसहित तेस्रो स्थानमा छ भने नेपाल २३ खेलबाट १६ अंकसहित सातौं स्थानमा छ। यूएई २४ खेलमा १४ अंकसहित पछाडि छ।
नेपाल र ओमानबीच ओडीआईमा अहिलेसम्म ९ खेल भएका छन्, जसमा नेपालले ३ जित हात पारेको छ भने ५ खेलमा पराजित भएको छ, एक खेल रद्द भएको थियो। कीर्तिपुरमा भने ओमान बलियो देखिँदै आएको छ—४ भेटमा नेपालले केवल एक जित निकालेको छ।
आजको खेलका लागि नेपालले टोलीमा दुई परिवर्तन गरेको छ। आशिफ शेख र करण केसी प्लेइङ–११ मा फर्किँदा भीम सार्की र सोमपाल कामी बाहिरिएका छन्।
नेपालको अन्तिम–११ मा विनोद भण्डारी, आशिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र ललित नारायण राजवंशी रहेका छन्।





















