लिपुलेक विवादमा सरकारको कूटनीतिक नोट सकारात्मक, तर समाधान नहुने जनमोर्चाको धारणा
चितवन, २४ बैशाख । राष्ट्रिय जनमोर्चाले नेपाल सरकारले भारत र चीनलाई पठाएको कूटनीतिक नोटलाई सकारात्मक कदमका रूपमा लिएको छ ।
पार्टी अध्यक्ष चित्रबहादुर केसीले आज जारी गरेको प्रेस वक्तव्यमा सरकारको पहललाई स्वागत गरे पनि यसले मात्र लिपुलेक समस्या समाधान नहुने स्पष्ट पारेका छन् ।
वक्तव्यमा भनिएको छ, नेपालको सहमतिबिना भारतले मानसरोवर यात्राका लागि लिपुलेक मार्ग प्रयोग गर्ने निर्णयविरुद्ध नेपाल सरकारले भारत र चीन दुवै देशलाई कूटनीतिक नोट पठाउनु सकारात्मक भए पनि समस्या समाधानका लागि यो पर्याप्त नहुने जनमोर्चाको धारणा छ ।
जनमोर्चाले लामो समयदेखि उठाउँदै आएको अडानअनुसार कूटनीतिक प्रयास मात्रले लिपुलेक वा कालापानीको विवाद समाधान नहुने उल्लेख गरिएको छ । साथै, सन् १९६० को सिमाना सम्झौताअनुसार लिम्पियाधुरा–लिपुलेक क्षेत्र नेपालमा पर्ने विषय चीनले समेत स्वीकार गरेको दाबी गरिएको छ ।
तर कालापानीको मुद्दामा चीनले भारतको अतिक्रमणलाई अप्रत्यक्ष समर्थन गरेको भन्दै जनमोर्चाले त्यसलाई अमैत्रीपूर्ण नीतिका रूपमा व्याख्या गर्दै विरोध गर्नुपर्ने बताएको छ ।


























