कांग्रेस विभाजनको दिशामा, नेतृत्वमा अहङ्कार मौलायो : पूर्णबहादुर खड्का
चितवन, ०२ जेठ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र बढ्दो आन्तरिक दूरी र नेतृत्वको अहङ्कारका कारण कांग्रेस विभाजनतर्फ उन्मुख भइरहेको बताएका छन् ।
शनिबार वीरेन्द्रनगरमा कांग्रेस कर्णाली प्रदेशले आयोजना गरेको ‘कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीमा बोल्दै उनले सानेपास्थित केन्द्रीय कार्यालयमा रहेको नेतृत्व र बाहिर रहेका आम कार्यकर्ताबीच ठूलो दूरी सिर्जना भएको उल्लेख गरे ।
खड्काले पार्टीलाई एकताबद्ध बनाउन नसके कांग्रेस विसर्जनको दिशामा जाने चेतावनी दिए । उनले देशी–विदेशी षड्यन्त्रमार्फत कांग्रेसलाई विभाजनतर्फ धकेल्ने प्रयास भइरहेको दाबी गर्दै व्यक्तिगत अहङ्कार, स्वार्थ र पारिवारिक मोहले संगठन कमजोर बनेको बताए ।
उनले नेताहरूलाई व्यक्तिगत आडम्बर, धनको मोह र नातागोताभन्दा माथि उठेर कार्यकर्तामाझ जान आग्रह गरे ।




















