कान्स फिल्म फेस्टिभलमा नेपाल पहिलोपटक आधिकारिक स्टलसहित उपस्थित, चलचित्र विकास बोर्डले यसलाई ऐतिहासिक पहल भने
चितवन, ०५ जेठ । फ्रान्सको कान्स शहरमा जारी ७९औँ कान्स फिल्म फेस्टिभलमा चलचित्र विकास बोर्डले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पहिलोपटक नेपालको आधिकारिक स्टल स्थापना गरी उपस्थिति जनाएको छ। बोर्डले यस कदमलाई नेपाली चलचित्र उद्योगको अन्तर्राष्ट्रिय प्रवर्द्धन, छायांकन अवसर, सांस्कृतिक पहिचान र सह–निर्माण सम्भावनालाई विश्व बजारसँग जोड्ने ऐतिहासिक सुरुवातका रूपमा व्याख्या गरेको छ।
बोर्डद्वारा जारी विज्ञप्तिअनुसार स्टलको स्थानीय व्यवस्थापन बेलायतस्थित नेपाली प्रोडक्सन कम्पनी शाही प्रोडक्सनले गरेको हो। यो उपस्थिति कुनै एक चलचित्र वा टोलीको प्रचारमा सीमित नभई समग्र नेपाली चलचित्र क्षेत्रलाई अन्तर्राष्ट्रिय वितरक, निर्माता, दर्शक र फिल्म पर्यटनसँग जोड्ने दीर्घकालीन प्रयास भएको बोर्डको भनाइ छ।
बोर्डले यसअघि नै इच्छुक चलचित्रकर्मीहरूलाई पोस्टर, ट्रेलर तथा प्रचार सामग्री पठाउन आग्रह गरेको थियो। यसै क्रममा छनोट भएको चलचित्र Elephant in the Fog लाई विशेष प्राथमिकता दिने तयारी गरिएको थियो। सो चलचित्रका निर्माता अनुप पौडेल र निर्देशक अविनाशविक्रम शाहलाई बोर्डमा आमन्त्रण गरी बधाई तथा छलफल समेत गरिएको थियो।
बोर्डका अनुसार स्टलको ठूलो हिस्सा उक्त चलचित्रको प्रचारका लागि छुट्याउने योजना थियो भने नेपाल पर्यटन बोर्डले सोही चलचित्रको सम्मानमा नेटवर्किङ कार्यक्रम गर्ने तयारी गरेको थियो। तर आवश्यक सामग्री समयमै उपलब्ध नभएकाले उपलब्ध स्रोतका आधारमा स्टल व्यवस्थापन गरिएको बोर्डले जनाएको छ।
सरकारी वैदेशिक भ्रमणसम्बन्धी नीतिगत सीमाका कारण प्रत्यक्ष प्रतिनिधित्व सम्भव नभएपछि शाही प्रोडक्सनलाई १५ दिनका लागि स्थानीय साझेदारको रूपमा जिम्मेवारी दिइएको थियो।
बोर्डले कान्समा नेपालको सहभागिताबारे आएका प्रतिक्रिया र सुझावलाई सकारात्मक रूपमा लिँदै आगामी वर्षहरूमा अझ व्यवस्थित र प्रभावकारी प्रस्तुति गर्ने प्रतिबद्धता जनाएको छ। साथै, यो पहल नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजार, सह–निर्माण, वितरण र सांस्कृतिक कूटनीतिसँग जोड्ने दीर्घकालीन यात्राको महत्वपूर्ण सुरुवात भएको पनि उल्लेख गरेको छ।























