‘समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित आज विश्व वातावरण दिवस मनाइँदै
चितवन, २२ जेठ । विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। यस वर्ष ‘समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नारासहित सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिएको छ।
दिवसको अवसरमा वातावरण विभागले ललितपुरमा विशेष समारोह आयोजना गरेको छ। कार्यक्रममा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ।
वातावरण विभागका अनुसार समारोहमा विभिन्न सरकारी निकाय, विकास साझेदार संस्था, वातावरणविद् तथा सरोकारवालाहरूको सहभागिता रहनेछ।
विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौतीको सामना तथा प्रकृतिमैत्री विकासको प्रवर्द्धनबारे जनचेतना बढाउने उद्देश्यले दिवसलाई विशेष रूपमा मनाउन लागिएको बताए।
विश्व वातावरण दिवसको अवसरमा देशभर वृक्षरोपण, सरसफाइ, जनचेतनामूलक अभियान तथा वातावरण संरक्षणसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गरिने विभागले जनाएको छ।






















