नयाँ संसद् भवनको ढिलाइप्रति सभामुख अर्याल आक्रोशित, ‘यो राष्ट्रकै अपमान हो’
चितवन, ०१ असार । सभामुख डोलप्रसाद (डीपी) अर्यालले सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद् भवनको निरीक्षण गर्दै निर्माण कार्यमा भएको ढिलाइप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
संसद् सचिवालयका कर्मचारीसहित निर्माणस्थल पुगेका सभामुख अर्यालले निर्धारित समयमै काम सम्पन्न हुन नसकेको भन्दै निर्माण कम्पनी तथा सम्बन्धित निकायसँग जवाफदेहिता माग गरेका हुन्।
गत जेठ १५ गते नयाँ संसद् हलबाट आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने योजना बनाइए पनि निर्माण कार्य अझै पूरा हुन सकेको छैन। निरीक्षणका क्रममा सभामुखले संसद् हल सञ्चालनयोग्य हुने निश्चित मिति तत्काल उपलब्ध गराउन निर्देशन दिए।
निर्माण कार्यमा थप ढिलाइ भए दैनिक एक करोड रुपैयाँ जरिवाना तिराउनुपर्ने चेतावनी दिँदै उनले सहरी विकास मन्त्री र मन्त्रालयका सचिवलाई तत्काल बोलाएर काम शीघ्र सम्पन्न गर्न आवश्यक पहल गर्न आग्रह गरे।
निरीक्षणका क्रममा सभामुख अर्यालले निर्माण पक्षलाई कडा शब्दमा सचेत गराउँदै भने, “रातदिन काम गरेर भए पनि प्रतिबद्धता पूरा गर्नुपर्छ। बारम्बार बहाना बनाइरहनु स्वीकार्य छैन। तपाईंहरूले हामीलाई मात्र होइन, राष्ट्रलाई नै अपमान गर्नुभएको छ। अब मलाई स्पष्ट निष्कर्ष र निश्चित समयसीमा चाहिन्छ।”


























