सुकुमवासीलाई लालपुर्जा दिन हर्कराज राईको माग, बालेन शाहको अभिव्यक्ति संसद् रेकर्डबाट हटाउन आग्रह
चितवन, ०२ असार । प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुकुमवासी समस्या तत्काल समाधान गरी लामो समयदेखि बसोवास गर्दै आएका नागरिकलाई लालपुर्जा उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सप्तरीको राजविराजमा करिब ८५ वर्षदेखि बसोवास गर्दै आएका स्थानीयवासी एक महिनादेखि धनीपुर्जाको माग गर्दै आन्दोलनरत रहेको जानकारी दिए। नगरपालिकालाई नियमित कर तिर्दै आए पनि उनीहरूले अझै पुर्जा नपाउनु अन्यायपूर्ण भएको उनको भनाइ थियो।
त्यस्तै, सुनसरी क्षेत्र नम्बर–१ अन्तर्गत रामधुनी–७ को ६४ बिघा जग्गामा ६६ वर्षदेखि बसोवास गर्दै आएका स्थानीयले पनि हालसम्म लालपुर्जा नपाएको उल्लेख गर्दै नक्कली जग्गाधनी खडा गरी उनीहरूलाई दुःख दिने प्रयास भइरहेको आरोप लगाए।
सांसद राईले नेपालको भूभाग डुबानमा पारेर छिमेकी मुलुकको रक्षा गर्ने किसिमका सम्झौता राष्ट्रहितविपरीत हुने भन्दै सरकारले यस विषयमा गम्भीर ध्यान दिनुपर्ने बताए।
यसैबीच, उनले प्रधानमन्त्री बालेन शाहले दिएको ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त भनाइ संसद्को अभिलेखबाट हटाउन सभामुखमार्फत माग गरेका छन्।
























