चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदान कार्यविधि–२०८३ स्वीकृत, निःशुल्क छात्रवृत्तिका लागि अनुदान वितरणको बाटो खुल्यो
चितवन, ०२ असार । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गर्दै जारी गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको आयोगको बैठकले उक्त कार्यविधिलाई अनुमोदन गरेको हो।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएको २४ घण्टाभित्रै कार्यविधि पारित गरिएको हो। यससँगै विगतदेखि रहेको कानुनी अस्पष्टता हट्दै छात्रवृत्ति व्यवस्थापनमा दीर्घकालीन समाधानको आधार तयार भएको बताइएको छ।
नेपाल राजपत्रमा प्रकाशित केही नेपाल ऐन संशोधन अध्यादेश, २०८३ मार्फत राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा दफा ५४(ख) थपिएपछि आयोगलाई आवश्यक निर्देशिका र कार्यविधि बनाउने कानुनी अधिकार प्राप्त भएको थियो।
नयाँ कार्यविधिअनुसार सार्वजनिक शिक्षण संस्थाले प्रदान गर्ने निःशुल्क छात्रवृत्ति तथा स्नातकोत्तर तह (डीएम र एमसीएचसहित) का निःशुल्क छात्रवृत्तिका लागि आयोगमार्फत अनुदान वितरण गर्न सकिने व्यवस्था गरिएको छ। यसले चिकित्साशास्त्र अध्ययन गराउने शिक्षण संस्थाहरूलाई सबै तहमा निःशुल्क छात्रवृत्ति उपलब्ध गराएबापत अनुदान प्राप्त गर्ने बाटो खुलाएको छ।

























