सप्तरीमा जबर्जस्ती विवाह गराएको आरोपमा एक पक्राउ
चितवन, ०४ असार । सप्तरी प्रहरीले जबर्जस्ती विवाह गराएको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका–९ निवासी मनोजकुमार ठाकुर रहेका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार ठाकुरले २०८२ साउन ३१ गते सुरुङ्गा नगरपालिका–१० का नागेन्द्र यादवको इच्छा र मन्जुरीविपरीत २२ वर्षीया युवतीसँग जबर्जस्ती विवाह गराएको आरोप लागेको छ।
प्रहरीका अनुसार उक्त विवाह वडा नं. ९ स्थित केशव स्मारक जनता माध्यमिक विद्यालय टिकुलीयाको परिसरमा रहेको सरस्वती मन्दिरमा सम्पन्न गरिएको थियो। विवाह आफ्नो सहमतिबिना कुटपिट गरी जबर्जस्ती गराइएको भन्दै नागेन्द्र यादवले ठाकुरविरुद्ध जाहेरी दिएका थिए।
घटनापछि फरार रहेका ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई अनुसन्धानका लागि सप्तरी जिल्ला अदालत, राजविराजबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।






















