राहदानी छपाई प्रकरणमा पूर्वमन्त्री आरजु राणा देउवासहित १८ जनाविरुद्ध अख्तियारको मुद्दा
चितवन, ०८ असार । राहदानी छपाईसम्बन्धी ठेक्का प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवासहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले सोमबार अनुसन्धान पूरा गरी अभियोगपत्र दायर गरेको हो। विशेष अदालत स्रोतका अनुसार प्रतिवादी बनाइएकामध्ये राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी, विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य तथा जर्मन कम्पनी मुल्हबाउरका नेपाली प्रतिनिधि मुनिन्द्रराज मल्लसहित सात जनालाई अभियोगपत्रसहित अदालतमा उपस्थित गराइएको छ।
अख्तियारको अनुसन्धानले राहदानी छपाई र प्रणाली व्यवस्थापनसम्बन्धी ठेक्का प्रक्रियामा करिब ८ अर्ब रुपैयाँ बराबरको अनियमितता भएको निष्कर्ष निकालेको जनाएको छ।
राहदानी विभागले २०८१ मङ्सिरमा पाँच वर्षका लागि ६४ लाख थान विद्युतीय राहदानी आपूर्ति तथा प्रणाली व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो। त्यसपछि तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवाले २०८१ फागुन ९ गते महानिर्देशक तीर्थराज अर्यालको संयोजकत्वमा बोलपत्र मूल्याङ्कन समिति तथा सूचना प्रविधि निर्देशक सुनिल केसीको नेतृत्वमा प्राविधिक उपसमिति गठन गरेकी थिइन्।
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार दुवै समितिले पूर्वमन्त्री राणाको निर्देशनअनुसार निश्चित कम्पनीलाई ठेक्का स्वीकृत गरेको आरोप छ।
उक्त ठेक्काअन्तर्गत जर्मन कम्पनी भेरिडोसले ६ अर्ब ५५ करोड रुपैयाँ र मुल्हबाउरले १ अर्ब ५५ करोड रुपैयाँ बराबरको सम्झौता प्राप्त गरेका थिए।
























