रौतहटमा जग्गा विवाद उग्रिँदा चक्कु प्रहार, एक जनाको मृत्यु, दुई पक्राउ
चितवन, २४ आषाढ । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गासम्बन्धी विवाद उग्रिँदा भएको चक्कु प्रहारमा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ईशनाथ नगरपालिका–१ बन्जरहाका ६० वर्षीय वुटन साह रहेका छन्। उनी औरैयास्थित आफ्ना ८० वर्षीय ससुरा रामबहादुर साहको घरमा बस्दै आएका थिए। घटनामा रामबहादुर साह पनि टाउकोमा चोट लागेर घाइते भएका छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
चक्कु प्रहारबाट पिठ्युमा गम्भीर घाइते भएका वुटन साहलाई प्रादेशिक अस्पताल गौर लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले मंगलबार राति उनलाई मृत घोषणा गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार घटनामा संलग्न आरोपमा २६ वर्षीय राममहेश्वर साह र उनका ६३ वर्षीय बाबु रामाऔतार साहलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।
स्थानीयका अनुसार जग्गाको स्वामित्वलाई लिएर लामो समयदेखि चल्दै आएको विवाद उग्रिएपछि उक्त घटना भएको हो।

























