टीकापुर प्रहरी हिरासतबाट फरार लागूऔषधका थुनुवा पुनः पक्राउ
प्रकाशित मिति: बिहिबार, आषाढ २५, २०८३ | १२:०५:००
चितवन, २५ आषाढ । कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका लागूऔषध मुद्दाका थुनुवा संजय नगार्जी पुनः पक्राउ परेका छन्।
टीकापुर नगरपालिका–१ निवासी ३१ वर्षीय नगार्जीलाई इलाका प्रहरी कार्यालय टीकापुर र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले टीकापुरकै अमरावती क्षेत्रबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा भेष परिवर्तन गरी मोटरसाइकल चलाइरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो। पक्राउका बेला उनले प्रयोग गरिरहेको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ।
नगार्जी गत असार ८ गते करिब ९ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका थिए। लागूऔषध मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका उनी आइतबार राति ड्युटीमा रहेका प्रहरी जवानलाई झुक्याएर फरार भएका थिए।
प्रकाशित मिति : बिहिबार, आषाढ २५, २०८३ |
१२:०५:००
287

























