नेप्से १९.६७ अंकले घट्यो
चितवन, २५ आषाढ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार १९.६७ अंकले घटेर २,६०१.९२ विन्दुमा पुगेको छ।
बजारमा गिरावट आए पनि कारोबार रकम ४ अर्ब ६१ करोड रुपैयाँभन्दा बढी रहेको छ। आज ३६१ कम्पनीका ८७ लाख ५१ हजार ३८० कित्ता शेयर खरिद–बिक्री हुँदा कुल ४ अर्ब ६१ करोड १९ लाख ५४ हजार ७८२ रुपैयाँ बराबरको कारोबार भएको हो।
कारोबारमा २२९ कम्पनीको शेयर मूल्य घटेको, ४२ कम्पनीको मूल्य बढेको तथा ६ कम्पनीको मूल्य स्थिर रहेको छ।
आज सबै उपसमूहमा गिरावट देखिएको छ। सबैभन्दा बढी ट्रेडिङ उपसमूह २.३६ प्रतिशतले घटेको छ भने विकास बैंक, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड उपसमूह पनि १ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन्।
व्यक्तिगत कम्पनीतर्फ उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १२.६८ प्रतिशतले बढेर सर्वाधिक लाभ दिने कम्पनी बनेको छ। त्यस्तै, स्नो रिभर लिमिटेडको शेयर मूल्य ११.७६ प्रतिशतले वृद्धि भएको छ। यता, बैंक अफ काठमाण्डू डिबेञ्चरको मूल्य ८.६६ प्रतिशतले घट्दै सर्वाधिक गुमाउने सूचीमा परेको छ।


























