बझाङमा बोलेरो दुर्घटना: ३ को मृत्यु, १२ घाइते
चितवन, २७ आषाढ । बझाङ जिल्लामा भएको बोलेरो जिप दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने १२ जना गम्भीर घाइते भएका छन्।
शनिबार दिउँसो करिब ३ बजे केदारस्युँ गाउँपालिका–७ बाट दुर्गाथली गाउँपालिका–६ चुवाबनतर्फ जाँदै गरेको से १ च २४४४ नम्बरको बोलेरो जिप सुँगरे क्षेत्रमा दुर्घटनामा परेको हो। चालक देवबहादुर धामीले चलाएको जिप सडकबाट करिब २५० मिटर तल खसेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।
दुर्गाथली गाउँपालिका–६ का वडाध्यक्ष जयबहादुर महतका अनुसार दुर्घटनामा दुर्गाथली–६ चुवाबनकी केला देवी धामी, चक्र महत तथा केदारस्युँ गाउँपालिका–७ की बिमला देवी धामीको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा चालक देवबहादुर धामीसहित झल्का महत, जयमती महत, धनशेर जाग्री, नबराज धामी, रमेश धामी, हासुली महत, रामबहादुर महत, हर्का महत, देवबहादुर जाग्री, बिरु जाग्री र राय महत गम्भीर घाइते भएका छन्।
जिपमा करिब १६ जना सवार रहेको अनुमान गरिएको छ। दुर्घटनापछि स्थानीयवासी र प्रहरीको सहयोगमा उद्धार कार्य जारी रहेको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

























