आफ्नै आम्दानीबाट देश बनाउने गरी बजेट ल्याइएको छ : अर्थमन्त्री वाग्ले
चितवन, २८ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश विकास गर्ने उद्देश्यले नयाँ बजेट ल्याइएको बताएका छन्।
आफ्नो निर्वाचन क्षेत्र तनहुँ पुगेका अर्थमन्त्री वाग्लेले बिहीबार जिल्ला समन्वय समिति तनहुँको वार्षिक समीक्षा कार्यक्रम उद्घाटन गर्दै राज्यको कमजोर आम्दानीका कारण ऋण लिएर दैनिक खर्च धान्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले करको दायरा फराकिलो बनाएको बताए।
उनले सानो–सानो योगदानबाट राज्यको आम्दानी बढाउँदै आफ्नै स्रोतबाट देश विकास गर्ने नीति लिइएको स्पष्ट पारे। जनताको विकासप्रतिको अपेक्षाको तुलनामा मुलुकको आर्थिक सामर्थ्य कमजोर रहेको र दातृ निकायको ऋणसमेत महँगिँदै गएकाले नेपाल आफैँ धनी बन्ने दिशामा अघि बढ्नुपर्ने उनको भनाइ थियो।
अर्थमन्त्री वाग्लेले नियमित तथा अत्यावश्यक राज्य दायित्व करिब रु. १ हजार ३५० अर्ब रहेको तर सरकारको आम्दानी करिब रु. १ हजार २५० अर्ब मात्रै रहेको बताए। ऋण लिएर ऋण र त्यसको ब्याज तिर्नुपर्ने अवस्थाबाट बाहिरिन करको दायरा विस्तार र कर तिर्न प्रोत्साहन गर्ने कार्यक्रम ल्याइएको उनले बताए।
उनले ऋण लिन नहुने, कर पनि तिर्न नपर्ने तर विकास भने जसरी पनि हुनुपर्ने मानसिकताबाट सबै पक्ष माथि उठ्नुपर्नेमा जोड दिए। करको दायरा विस्तार गर्दा नयाँ क्षेत्रमा कर थपिएको भन्ने गुनासो सम्बोधन गर्दै सरकारले सर्वसाधारणलाई अनावश्यक करको अन्तिम दायित्वबाट जोगाउने आश्वासनसमेत दिए।
अर्थमन्त्री वाग्लेले सरकारले रु. २ हजार १२४ अर्बको बजेटमार्फत निजी क्षेत्रलाई उत्साहित बनाउँदै करिब रु. ६६ खर्बको अर्थतन्त्रलाई चलायमान बनाउन खोजेको पनि बताए।

























