गण्डकीमा रेडियो र टेलिभिजनको अनलाइन दर्ता तथा नवीकरण सुरु
चितवन, ३० साउन । प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले रेडियो तथा टेलिभिजन प्रसारण संस्थाको दर्ता र नवीकरण सेवा अनलाइनबाटै सुरु गरेको छ।
अनलाइनबाट नवीकरण गरिएका रेडियो र टेलिभिजनलाई शुक्रबार पहिलोपटक प्रदेशबाटै नवीकरण प्रमाणपत्र प्रदान गरिएको हो। योसँगै गण्डकी प्रदेशमा सञ्चालित प्रसारण संस्थालाई इजाजतपत्र नवीकरणका लागि काठमाडौं जानुपर्ने बाध्यता हटेको प्रेस रजिष्ट्रार विमला भण्डारीले बताइन्।
कार्यालयले छुट्टै सफ्टवेयर विकास गरी रेडियो तथा टेलिभिजनको अनलाइन दर्ता र नवीकरण सेवा सञ्चालनमा ल्याएको हो। नवीकरण प्रमाणपत्र अनलाइनबाटै प्राप्त गर्न सकिने तथा कार्यालयबाट समेत लिन सकिने व्यवस्था गरिएको छ।
प्रेस रजिष्ट्रार भण्डारीका अनुसार अनलाइन सेवाले समय र खर्च बचत गर्नुका साथै प्रशासनिक झन्झटसमेत कम गर्नेछ। उनले प्रसारण संस्थाको इजाजतपत्र नवीकरणका लागि कार्यालयमा सम्पर्क गर्न र राजस्वसमेत प्रदेशमै बुझाउन आग्रह गरेकी छन्।
त्यस्तै, अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरणसमेत प्रदेशबाटै गर्ने नीतिगत व्यवस्था गर्न प्रदेश समस्या समाधान समितिको बैठकमार्फत संघ सरकारसमक्ष अनुरोध गरिएको उनले जानकारी दिइन्।






















