चोरीमा संलग्न दुईजना पक्राउ , प्रहरीबाट बच्न नक्कली प्रेस कार्ड देखाउदै
काठमाडौं , ७ जेठ ।
काठमाडौंको विभिन्न स्थानमा चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरिय अपराध महाशाखा र महानगरिय प्रहरी वृत गौशालाको टोलीले चोरी कार्यमा संलग्न रहेका दुईजनालाई गएराति पक्राउ गरेको हो ।
प्रहरीले सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका वडा नम्बर १४ स्थायी ठेगाना भई हाल काठमाडौं धुम्बाराही बस्दै आएका २१ बर्षिय हिमाल रसाईली र बारा जिल्ला फुलबारी गाउपालिका वडा नम्बर ३ घर भई हाल काठमाडौं ओमबहाल बस्दै आएका २८ बर्षिय अलि आलम मियालाई पक्राउ गरेको छ । उनीहरुमध्य हिमाल रसाइलीले प्रहरीबाट बच्न प्रेस कार्ड देखाउने गरेको समेत खुलेको छ । एक संचारकर्मीको कार्ड हुबहु बनाएर आफ्नो फोटो हालेर प्रयोग गरेको पाइएको महानगरिय अपराध महाशाखाका प्रमुख एस एस पी दिपक थापाले बताए । उनले कुनै स्थानमा प्रहरीको चेकजाँच भएको अवस्थामा पत्रकार भन्दै कार्ड देखाएर हिड्ने गरेको खुलेको छ ।
चेकजाँचको क्रममा रसाइलीले प्रेस कार्ड देखाएको तर उनको झोला चेक गर्दा चोरी गरेका बिभिन्न ब्राण्डका ल्यापटप , क्यामरा , अमेरिकी डलर , चाइनिज युयान , नेपाली रकम र धारिलो हतियार समेत फेला परेको थियो । उनीहरुको साथबाट प्रहरीले नगद ५३ हजार , अमेरिकी डलर ३०० र चाइनिज युयान २०० , एप्पल कम्पनीको ल्यापटप एक थान , एप्पल कम्पनीकै आइ प्याड २ थान , मोबाइल ६ थान , धारिलो हतियार ३ थान , प्रोजेक्टर २ थान , क्यामेरा १ ,प्रेस कार्ड र बा २७ प ९४९० नम्बरको मोटरसाइकल बरामद गरेको छ ।


















