नेपालले ओमानलाई दियो २५० रनको लक्ष्य
काठमाडौँ,२६ माघ।
आईसीसी विश्वकप क्रिकेट लीग २ अन्तर्गत नेपालले ओमानलाई २ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
आइतवार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाली टीमले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २४९ रन बनाएको हो ।
ओपनर सुवास खकुरेल २२ रन बनाएर आउट भएपछि कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्काले नेपालको स्कोर उकासेका थिए ।
यसक्रममा पारस ३८ रनमा पेभेलियन फर्के भने कप्तान मल्लले ५६ रन जोडे ।
अनुभवी ब्याट्स्म्यान पेभेलियन फर्केपछि आरिफ शेख र कुशल मल्लले नेपालको पारी सम्हालेका थिए । आक्रामक ब्याटिङ गरिरहेका कुशल र आरिफ शेखले समान २८-२८ रन बनाए ।
विनोद भण्डारीले ४५ तथा करण केसीले १० रनको योगदान गरे ।
बलिङतर्फ ओमानका लागि अक्विब इल्यासले सर्वाधिक ४ विकेट लिए । मोहम्मद नदीमले ३ विकेट लिए ।
केहीबेरमा ओमानले जवाफी ब्याटिङ गर्दैछ ।



















