बसको ठक्करबाट नायिका महिमा सिलवालको मृत्यु
काठमाडौं , ६ फागुन ।
बसको ठक्करबाट नेपाली चलचित्रकी नायिका महिमा सिलवालको मृत्यु भएको छ ।
बुधवार साँझ धादिङको गजुरीमा उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई विपरित दिशाबाट आउँदै गरेको लु २ ख १३५ नम्बरको बसले ठक्कर दिएको थियो । अभिनेत्री सिलवालको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले बताएको छ ।
स्कुटरमा उनकी बहिनी सर्मिला सिलवाल पनि सवार थिइन् । उनीहरु स्कुटरमा काठमाडौंबाट चितवन घर जाँदै थिए ।
अभिनेत्री महिमा सिलवालकी बहिनी सर्मिलाको उपचारका लागि काठमाडौं ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
भरतपुर महानगरपालिका–१२ शिवनगरकी अभिनेत्री महिमा सिलवालले एक दर्जनभन्दा बढी चलचित्र र दर्जनौं म्यूजिक भिडियोमा अभिनय गरेकी छन् ।
‘कारवाही’ फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले ‘जिगोलो’, ‘अप्रिल फूल’, ‘दानव’ लगायतका चलचित्रमा अभिनय गरेकी छन् ।