नवलपरासीका कोरोना संक्रमित वैशाख ३० मा भारतबाट ट्रकमा आएका थिए
काठमाडौं,१ जेठ
पूर्वी नवलपरासीका पहिलो कोरोना संक्रमित भारतबाट अवैध बाटो हुँदै ट्रकमा आएको खुलेको छ । उनी रक्सौल हुँदै गत वैशाख ३० गते जिल्ला आएको पाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
ट्रक चढेर नवलपुर पुगेका उनलाई स्थानीयले भारतबाट आएको थाहा पाएपछि सोही दिन प्रहरीको सहयोगमा चितवनको भरतपुरस्थित कोरोना अस्पताल पठाइएको थियो ।
उनी भारतको कलकत्तामा बस्दै आएको खुल्न आएको भरतपुर कोरोना विशेष अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट श्रीराम तिवारीले जानकारी दिए । लकडाउन लम्बिएपछि उनी सीमासम्म कतै हिँडेर र कतै गाडीमा आइपुगेका थिए । त्यसपछि उनी प्रहरीको आँखा छल्दै अवैध बाटो हुँदै नेपाल प्रवेश गरेका थिए ।
उनका अनुसार उनको स्वाब बिहीबार परीक्षण भएकोमा कोरोना संक्रमण पुष्टि भएको हो । अहिले उनी अस्पतालकै आइसोलेसन कक्षमा रहेको र अवस्था सामान्य रहेको जानकारी दिए ।
संक्रमित व्यक्ति देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुष रहेको पनि उनले जानकारी दिए ।
योसँगै गण्डकी प्रवेशमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ । यसअघि विदेशबाट आएका बागलुङका दुई जनामा कोरोना पुष्टि भएको थियो भने उनीहरु निको भइसकेका छन् ।
शुक्रबार एक जना थपिएसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आजै काठमाडौं र कपिलबस्तुमा पनि दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।



















