काठमाडौंको माछापोखरी क्षेत्रका १५ जनाको पीसीआर रिपोर्ट नेगेटिभ
काठमाडौं,६ जेठ ।
काठमाडौंको माछापोखरी–तरकारी बजार र बसपार्क क्षेत्रमा गरिएका कोरोना परीक्षणको सबै रिपोर्ट नेगेटिभ आएको छ। आइतबार सो क्षेत्रमा १७२ जनाको पीसीआर र ४२० जनाको आरडीटी विधिद्वारा कोरोना परीक्षण गरिएको थियो । जसमा आरडीटीमा १५ जनाको नतिजा पोजेटिभ आएपनि उनीहरुको फेरि पीसीआर प्रविधिबाट गरिएको परीक्षणमा मंगलबार नतिजा नेगेटिभ आएको कामपा वडानम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले बताए । उनले आरडीटीमा पोजेटिभ आएकासहित परीक्षण गरिएका कसैमा पनि कोरोना पुष्टि नभएको बताए ।
गोंगबु क्षेत्रमा तरकारी पसल गरेर बस्ने सिन्धुपाल्चोककी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएपछि सो आसपास क्षेत्रमा कोरोना परीक्षण गरिएको थियो ।
काठमाडौं महानगरपालिका वडा नम्बर २६ र १६ अन्तर्गत पर्ने सो क्षेत्रका तरकारी पसले, ट्राफिक प्रहरी र बाहिरबाट आएकाहरुको कोरोना परीक्षण गरिएको वडाध्यक्ष रिजालले बताए ।
यसअघि काठमाडौं महानगरपालिकाका सफाइ कर्मचारीको पनि कोरोना परीक्षण हुँदा सबैको नतिजा नेगेटिभ आएको थियो ।



















