बलिउड नायक सुशान्त सिंह राजपुतको कथामा फिल्म निर्माण हुने
काठमाडौं,१२ असार
बलिउड नायक सुशान्त सिंह राजपुतको निधन भएपछि उनको कथामा चलचित्र निर्माणको घोषणा हुन थालेको छ ।
जुन १४ तारिखमा सुशान्तले आफ्नै अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेका थिए । बलिउडमा राम्रो स्थान बनाइसकेका सुशान्तले आखिर किन आत्महत्याको बाटो रोजे, यो भने अझै पनि रहस्यमय नै छ ।
अब, भने बलिउडका केही मेकरले सुशान्तको कथामा चलचित्र निर्माण सुरु गरेका छन् । निर्देशक सनोज मिश्रले सुशान्तको कथामा कथा लेख्न सुरु गरेका छन् । उनका अनुसार, यो कथा सुशान्तको बायोपिक भने होइन । तर, उनको जीवनीमा आधारित रहेर तयार चलचित्र निर्माण हुनेछ । चलचित्रको नाम ‘सुशान्त’ राख्ने तयारी उनको छ ।
यो चलचित्रमा सपना पुरा गर्न मुम्बई आएको एक यूवकको कथा समावेश गरिनेछ । तर, सपना पुरा गर्दैगर्दा विभिन्न खालका ह्यारेसमेन्टका कारण आत्महत्याको बाटो रोज्ने यूवकको कथालाई सनोजले पर्दामा उतार्ने तयारी गरेका छन् ।
यस भन्दा अगाडि, सामिक मौलिकले सुशान्तकै कथामा चलचित्र बनाउने घोषणा गरिसकेका छन् । उनले, ‘सुसाइड और मर्डर’ नामक चलचित्र बनाउने बताएका छन् ।

























