अदालतले ८७ वर्ष कैद सजाय तोकेको व्यक्ति २० वर्षपछि पक्राउ
कैलाली,१२ भदौ
२०६१ साल माघ २७ गते कैलाली कारागारबाट एकै दिन दुई जना फरार भए ।
पुर्पक्षका लागि कारागार कार्यालय कैलाली पठाइएका जोशीपुर गाउँपालिका ६ का ४५ वर्षे रोगही भन्ने क्रमराज थापा भाग्नेमध्ये एक थिए।
उनलाई ८ वटा डाँका चोरीका घटनामा संलग्न रहेकोमा पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गरिएको थियो।
उनले २०५७ सालको पुस १४ गते जोशीपुर गाउँपालिका ४ मा डाँका हालेका थिए।
७/८ जनाको समूह बनाई रातिको समयमा भरुवा बन्दुक, खुकुरी र लाठ्ठी समेत बोकी स्थानीयका घर घेरेर उनले डाँका हालेका थिए ।
उनी हरेक हप्ता कम्तिमा एक ठाउँमा डाँका/ चोरी गर्थे । दुई महिनाको अवधिमा जोशिपुर गाउँपालिकाका वडा नम्बर २, ३, ६, फेरि २, ७ , ४ र बर्दगोरिया गाउँपालिकाको वडा–१ मा डाँका हानेका उजुरी प्रहरीमा आएका थिए।
मुखमा पट्टी बाँधी घरमा सुतिरहेका मानिसहरूलाई नियन्त्रणमा लिने र डरत्रास देखाई घरभित्र रहेका जिन्सी तथा धनमालहरू लुटपाट गर्ने गरेका उनी २०५७ साल फागुन ३० गते पक्राउ परे।
थापासँगै जोशीपुर गाउँपालिका ३ का ४९ वर्षे रोहिना भन्ने भगत चौधरी पनि कारागारबाट भागेका थिए। उनी पनि एउटा डाँका चोरी मुद्दामा पक्राउ परी पुर्पक्षका लागि कारगार गएकोमा त्यहीँबाट भागेर फरार भएका थिए।
२०५७ सालको फागुन १० गते जोशिपुर गाउँपालिका वडा नम्बर २ स्थित स्थानीयका घरमा डाँका हानेको उजुरी परेपछि उनी सोही महिनाको ३० गते पक्राउ परेका थिए।
जोशिपुर गाउँपालिका–४ का ३८ वर्षे कालु भन्ने गुन सिंह कठरियाका विरूद्ध पनि त्यस्तै प्रकृतिका ४ वटा डाँका चोरीमा संलग्न भएको मुद्दा परेको थियो।
त्यही समूहमा रहेका उनले पनि जोशिपुर र बर्दगोरियाका विभिन्न ठाउँमा मान्छेका घरमा डाँका हानेर डर धम्की देखाई नगद तथा जिन्सी लुटेको भनी प्रहरीमा जाहेरी परेको थियो।
वारदात मितिबाटै फरार भएका उनलाई प्रहरीले खोजिरहेको थियो। भजनी नगरपालिका–६ बस्ने व0र्ष ४७ का टिकाराम चौधरी(डगौरा) पनि सोही समूहमा मिलेर डाँका चोरी गर्नेमध्येका एक थिए।
उनले स्थानीयका घरमा ५ ठाउँमा लुटपाट गरेको र साविक थापापुर गाउँ विकास समितिको भवनमा आगजनी समेत गरेको जाहेरी परेको थियो।
वारदात मितिबाटै उनी पनि फरार थिए।
यसरी डाँका चोरी मुद्दाका फरार चारै जना प्रतिवादी पुनः पक्राउ परेका छन्।
विभिन्न मितिमा ७/८ जनाको समूह बनाई मानिसहरूका घरमा रहेका जिन्सी तथा धनमालहरू लुटपाट गरी डाँका चोरी गरी उनीहरू पीडितहरूको जाहेरीको आधारमा क्रमराज थापा र भगद चौधरी चार वर्ष कारागार बसी भागेका थिए ।
अरू दुई जना गुनसिंह कठरिया र टिकाराम चौधरी भनि वारदात मितिबाटै फरार थिए ।
सम्पूर्ण अनुसन्धान कार्य पूरा भई कैलाली जिल्ला अदालतबाट फैसला समेत भएर लामो समयदेखि फरार चारै जना भदौ ९ गते पक्राउ परेका कैलाली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।
‘जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले निजहरूकै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो,’ डिएसपी विष्टले भने।
उनीहरूलाई आवश्यक कारबाहीको लागि बिहीबार कैलाली जिल्ला अदालत कैलालीमा दाखिला गरिएको विष्टले बताए ।
घटना घटाएको २० वर्षपछि पक्राउ परेका चारै जनाको जम्मा कैद १७० वर्ष रहेको छ।
कारागारबाट फरार भएका ८ वटा मुद्दामा दोषी पाइएका क्रमराज थापालाई ८७ वर्ष कैद सजाय र रु.४४ हजार १ सय ५३ रुपैयाँ जरिवाना तोकिएको छ।
यस्तै, कारगारबाटै भागेर फरार भएका भगत चौधरीलाई ६ वर्ष कैद र रु.४ हजार ५ सय जरिवाना तोकिएको छ ।
फरार रहेका गुन सिंह कठरियालाई ३९ वर्ष कैद र १४ हजार ७० रुपैयाँ जरिवाना तोकिएको छ भने टिकाराम चौधरीलाई ३८ वर्ष कैद र ९ हजार ८ सय ४० रुपैयाँ जरिवाना तोकिएको छ।


















