यस्तो छ सुरेश रैना आइपिएल नखेल्ने कारण !
एजेन्सी, १३ भदौ ।
भारतीय टोलीका पूर्वखेलाडी एवम् फ्रेन्चाइज टिम चेन्नई सुपर किङ्सका अनुभवी ब्याट्सम्यान सुरेश रैनाले यस सिजनको इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट नखेल्ने भएका छन् ।
आइपिएल खेल्न टिमसहित युएई पुगेका रैना निजी कारणले भारत फर्किएका थिए र आइपिएल नखेल्ने बताएका थिए ।
तर उनको परिवारमा अप्रत्याशित घटना घटेकाले अकस्मात् भारत फर्किनुपरेको कुरा खुलेको छ ।
पठानकोटको थारियाल गाउँमा रहेका उनकी सानी आमा र सानोबुबाको परिवारमाथि मध्यरातमा अज्ञात समुहले गरेको आक्रमणमा सानो बुबाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय मिडिया जागरणका अनुसार रैनाकी सानी आमा (पिताकी बहिनी) अहिले गम्भीर घाइते भएर उपचारत रहेकी छन् भने ५८ वर्षीय सानोबुबा अशोक कुमारको मृत्यु भएको छ ।
त्यसैगरी ३२ वर्षीय भाई कौशल कुमार र २४ वर्षीय भाई अपिन कुमार पनि घाइते भएका छन् । साथै ८० वर्षीया हजुरआमा समेत घाइते भएको बताइएको छ ।
राति छतमा सुतिरहेको बेला आक्रमण भएको बताइएको छ । प्रहरी अनुसन्धानमा जुटेपनि अझै घटनामा संलग्न हुनेको पहिचान हुन नसकेको बताइएको छ ।
यसैबीच कोरोना भाइरसका कारण युएईमा खेलाउन लागिएको आइपिएलमा चेन्नइका एक खेलाडीसहित १० सदस्यमा कोरोना पोजेटिभ देखिएपछि अहिले संक्रमितहरु आइसोलेसनमा र टिमका अन्य सदस्यहरु क्वारेन्टाइनमा रहेका छन् ।
यस सिजनको आइपिएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुदै छ । आइपिएलका सम्पूर्ण खेलहरु युएईका तीन मुख्य सहर आबुधाबी, शारजाह र दुबईमा खेलाइनेछन् ।






















