चकलेट दिएर ९ वर्षकी बालिका बलात्कार गर्ने भारतीय पूर्वसैनिक पक्राउ
पोखरा,१५ भदौ ।
नौ वर्षीया बालिकालाई फकाएर बलात्कार गर्ने भारतीय पूर्वसैनिकलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पीडित बालिकाका बाबुआमा विदेशमा छन् । पोखरामा आफन्तसँग बस्ने ती बालिकामाथि गएको ४/५ महिनादेखि पोखरा महानगरपालिका १० बस्ने ५५ वर्षीय रेशबहादुर गुरुङले बलात्कार गर्दै आएका थिए ।

बालिकलाई फकाएर बलात्कार गर्दै आएका उनको कर्तुत तब खुल्यो, जब गत शुक्रबार बालिकाका आफन्तले उनको कपडामा दाग देखे । त्यसपछि सोधखोज गर्ने क्रममा पोल खुलेको हो ।
स्याङ्जाको बिरुवा गाउँपालिका ७ घर भई पोखरा १०, मिलनचोकमा बस्दै आएका उनी भारतीय पूर्वसैनिकसमेत हुन् । उनले बालिकालाई फकाएर यौन शोषण गर्दै आएका थिए । त्यसपछि आफन्तले शुक्रबारै कास्की प्रहरीमा जाहेरी दिए ।
जाहेरीबारे थाहा पाउनासाथ गुरुङ फरार भए । पोखराबाट भागेका गुरुङ स्याङ्जास्थित बिरुवा गाउँपालिका ८, टोड्केमा लुकेर बसेका थिए ।
स्याङ्जा प्रहरीसँगको समन्वयमा उनलाई आइतबार राति नै पक्राउ गरि पोखरा ल्याइएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए । उनका अनुसार अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।


















