टोनी क्रुसको रियल म्याड्रिडमा अलग पहिचान छ : प्रशिक्षक जिनेदिन जिदान
एजेन्सी,१८ भदौ
प्रशिक्षक जिनेदिन जिदानले रियल म्याड्रिडका मिडफिल्डर टोनी क्रुसको क्लबमा अलग पहिचान रहेको बताएका छन् । फ्रान्सेली प्रशिक्षकका अनुसार जर्मन अन्तर्राष्ट्रिय सामान्यतया शान्त रहने स्वभाव भएपनि आवश्यकता पर्दा भने आफ्नो विचार राख्ने गरेको बताएका छन् ।
‘टोनी धेरै बोल्दैनन् । शान्त छन् । उनी अन्तरमुखी स्वभावका छन् । तर जति बेला उनलाई बोल्न आवश्यक लाग्छ त्यति बेला सबैले उनलाई सुन्छन्,’ जिदानले भने, ‘उनी प्रशिक्षक, निर्देशक वा सहकर्मीलाई पनि आफ्नो भनाई राख्छन् । मैले धेरै पटक अनुभव गरेको छु, उनका सुझावहरु महत्त्वपूर्ण हुने गर्छन् ।’
जिदानले क्रुसको क्षमता र मिडफिल्डमा भएको विविधताको पनि चर्चा गरेका छन् । ‘उनी त्यस्ता खेलाडी हुन् , जो नं ६ का रुपमा पूर्णत मिडफिल्डरका रुपमा खेल्न सक्छन् वा उनीलाई नं १० को भूमिका ठिक हुन्छ,’ क्रुसको तारिफमा जिदानले भने, ‘स्थिरता नै उनको मुख्य क्षमता हो । उनी कहिल्यै आत्तिदैनन् । उनी दुवै खुट्टाले मज्जाले फुटबल खेल्न सक्छन् । त्यसमा पनि बायाँ अझै राम्रो चल्छ ।’
जिदान त्यतिमा रोकिएनन् । ‘उनका लागि फुटबल र परिवार नै सब थोक हो । बाँकी विषयमा उनलाई खासै चासो छैन,’ जिदानले भने, ‘म जति बेला रियलमा प्रशिक्षकका रुपमा आए क्रुसलाई प्रशिक्षण दिन पाउँदा मलाई खुसी लाग्यो ।’
जिदानले सर्जियो रामोस, क्रिस्टियानो रोनाल्डो, गेराथ बेल र क्रुस जस्ता खेलाडीलाई प्रशिक्षण दिन पाउँदा खुसी लागेको बताए ।






















