नक्कली प्रेसकार्ड बनाउने ४ जना बागबजारबाट पक्राउ
काठमाडौं,२३ भदौ ।
काठमाडौंको बागबजारबाट प्रहरीले पत्रकारको नक्कली परिचयपत्र बनाएर बिक्री गरेको अभियोगमा ४ जनालाई पक्राउ गरेको छ ।
मङ्गलबार पनि काठमाडौँको बागबजारमा पत्रकारको परिचयपत्र नक्कली बनाउँदै गरेको अवस्थामा केही व्यक्ति पक्राउ गरेको थियो । महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले नवलपरासीका लक्ष्मण न्यौपानेले बागबजारमा सञ्चालन गरेको कालिका प्रिन्टर्स स्पोर्टस प्रालिमार्फत विभिन्न व्यक्तिको नामबाट अस्पतालका कर्मचारी र पत्रकारको नक्कली परिचयपत्र बनाई प्रतिकार्ड रु ५०० भन्दा बढीमा बिक्री वितरण गर्ने गरेको फेला परेको जानकारी दिनुभयो ।
प्रहरीले न्यौपानेसहित बर्दिया घर भई कोटेश्वर बस्ने श्रीराम खड्का, नवलपुरासी सुस्ता पूर्व कावासोती घर भई काठमाडौँ भीमसेनगोला बस्ने रमेशकुमार रेग्मी, स्याङ्जा जगत्रदेवी घर भई हाल धापसी बस्ने राजेन्द्रराज भण्डारी रहेको थापाले जानकारी दिनुभयो । उनीहरुलाई कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ बुझाइएको छ । उनीहरुबाट विभिन्न मिडिया, अस्पताल र प्रिन्टिङ प्रेसको नक्कली परिचयपत्र तथा परिचयपत्र बनाउन प्रयोग हुने उपकरण बरामद गरिएको छ ।


















