आईपीएलमा आज दिल्लीसँग पञ्जाव भिड्दै
एजेन्सी,४ कार्तिक ।
इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मङ्गलबार हुने खेलमा दिल्ली क्यापिट्ल्सले किंग्स ११ पञ्जाबको सामना गर्नेछ ।
खेल नेपाली समयअनुसार राति पौने आठ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । दिल्ली आजको खेलमा जित निकाल्दै आफूलाई शीर्ष स्थानमा बलियो बनाउने प्रयासमा हुनेछ छ भने पञ्जाब पनि प्ले अपको सम्भावनालाई जीवित राख्न जित्नै पर्ने दबाबमा छ ।
पछिल्ला दुई खेलमा जित हात पार्दै लय समात्ने प्रयासमा रहेको पञ्जाबका लागि उत्कृष्ट लयमा रहेको दिल्लीविरुद्ध जित निकाल्न त्यति सहज हुनेछैन ।
पञ्जाब हाल ९ खेलबाट ३ जित र ६ हारको नतिजासहित लिगको सातौं स्थानमा छ । उसको ब्याटिङ कप्तान केएल राहुल र मायंक अग्रवालमा निर्भर देखिन्छ ।
राहुलले १ शतक र ५ अर्धशतकसहित ५२५ तथा अग्रवालले १ शतक र २ अर्धशतकसहित ३९३ रन बनाएका छन् ।
पञ्जाबको बलिङ पनि मोहम्मद शामी र रबी बिस्नोइमा निर्भर देखिन्छ । शामीले १४ तथा बिस्नोइले ९ विकेट हात पारेका छन् ।
ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरिरहेको दिल्ली हाल ९ खेलबाट ७ जित र २ हारको नतिजासहित लिगको शीर्ष स्थानमा छ ।
दिल्लीका लागि ब्याटिङमा शिखर धवन र कप्तान श्रेयस अय्यर तथा बलिङमा कागिसो राबडा र एनरिच नोत्जेले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
धवले १ शतक र २ अर्धशतकसहित ३५९ तथा अय्यरले २ अर्धशतक सहित ३२१ रन प्रहार गरेका छन् । राबडाले १९ र नोत्जेले १२ विकेट हात पारेका छन् ।
हालसम्म यी दुई टोलीबीच २५ खेलमा प्रतिस्पर्धा हुँदा दिल्लीले ११ तथा पञ्जाबले १४ खेल आफ्नो नाममा गराएका छन् । पछिल्ला पाँच खेलमा पनि पञ्जाब बलियो स्थितिमा देखिन्छ ।
पञ्जाबले ३ खेल आफ्नो पक्षमा पार्दा २ खेल गुमाएको छ । यो सिजनको पहिलो भेटमा भने दिल्ली सुपर ओभरमा विजयी भएको थियो ।


















