लागुऔषधसहित पाँच जना पक्राउ
इनरुवा, १९ कात्तिक ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्लाको विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिएर मङ्गलबार सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका–१ लौकहीका १९ वर्षीय मनिष यादव, भारत सुपौल बनेलीपट्टी–७ का १९ वर्षीय सुरेशकुमार गुप्ता, कोशी गाउँपालिका १९ वर्षीय महेशकुमार मेहता, भोक्राहा नरसिंह गाउँपालिका–१ का सञ्जीव उराव र रामधुनी नगरपालिका–३ झुम्काका नफिल मियाँ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताउनुभयो ।
सुनसरी प्रहरीले शुरु गरेको लागुऔषधविरुद्धको अभियानअन्तर्गत भारतीय बजारबाट नेपाली बजारतर्फ लागुऔषध लिएर आइरहेको गोप्य सूचनाका अधारमा उनीहरुलाई पक्राउ गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो । यादव, गुप्ता र मेहतालाई सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित राजापोखरीबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाको साथबाट डाइलक्स डिसी १०० एमएलको ४७ बोतल बरामद गरिएको प्रहरीले जनाएको छ । उराव र मेहतालाई इनरुवा–४ बाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उराव र मियाँको साथबाट प्रहरीले नाइट्रिसन १० लेखिएको लागुऔषध जम्मा आठवटा बरामद गरिएको प्रहरीले जनाएको छ । इनरुवा–४ स्थित बसचोकमा शङ्कास्पद अवस्थामा आउँदै गरेको देखी जाँच गर्ने क्रममा लगुऔषध बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरी लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिमको कानूनी प्रक्रिया बढाइएको सुनसरीका प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो ।
छोराको हत्या गरेको अरोपमा ११ वर्षपछि बुवा पक्राउ
छोराको हत्या गरेको अरोपमा ११ वर्षपछि बुवालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–१ का करिम मियाँ रहेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताउनुभयो । भोक्राहा नरसिंह गाउँपालिकामा विसं २०६६ मा तीन महिनाको छोराको घाँटी थिची हत्या गरेर मियाँ ११ वर्षदेखि फरार रहेका थिए ।
छोरा दिलसाह मियाँको हत्या अभियोगमा फरार रहेका ५१ वर्षीय बुनिया भन्ने करिम मियाँलाई प्रहरीले पक्राउ गरेर मङ्गलबार सार्वजनिक गरेको हो । माइतीघरमा बस्दै आएकी कान्छी श्रीमती अजिरन खातुनलाई लिन विसं २०६६ मङ्सिर २२ गते ससुरालीघरमा गएका मियाँले श्रीमतीसँग वादविवाद भएपछि छोराछोरीलाई लिई घर फर्कँदै गर्दा बाटोमा श्रीमतीलाई कुटपिट गरी बेहोस बनाएको र छोराछोरीलाई घाँटी थिची केराबारीमा फालिदिएपछि तीन महिनाको छोरा दिलसाहको मृत्यु भएको भन्दै उजुरी परेको थियो ।
मियाँकै कान्छी श्रीमती अजिरनले जिल्ला प्रहरी कार्यालय सुनसरीमा घटनाबारे उजुरी दिए पनि मियाँ भागेपछि पक्राउ परेका थिएनन् । घटनापछि नेपालका विभिन्न ठाउँमा लुकीछिपी बस्दै आएका मियाँलाई प्रहरीले कात्तिक १७ गते इनरुवाबाट पक्राउ गरेको हो । पक्राउ परेका मियाँका विषयमा थप अनुसन्धान शुरु भएको सुनसरी प्रहरीले जनाएको छ । रासस


















