धनगढीमा दुई प्रहरी हत्याकाण्डका मुख्य योजनाकार राना पक्राउ
काठमाडौं,१३ पुष ।
गत कात्तिक पहिलो हप्ता कैलालीको धनगढीस्थित नेपाल–भारत सीमा क्षेत्रमा प्रहरी हत्याकाण्डका मुख्य योजनाकार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीका प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउदको हत्याका मुख्य योजनाकार मानिएको धनगढी उपमहानगरपालिका १० चकमलीका ३५ वर्षीय सुकबहादुर राना भनिने अमर रानालाई प्रहरीले सोमबार पक्राउ गरेको हो।
यसअघि सोही घटना अभियोगमा पक्राउ परेका ८ जनालाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ।
पक्राउ परेका रानालाई आजै अदालतमा पेस गरिने प्रहरीले जनाएको छ।
राना लामो समयदेखि भारतको वनकट्टी र सलियापारबाट नेपालमा अवैध सामान र नेपालबाट अवैधरूपमा भारत सामान पठाउने कार्यमा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
कात्तिक १ गते शनिबार राति धनगढी–१२ जुगेडामा तस्करहरुले गस्तीमा रहेका प्रहरीको हत्या गरेका थिए।


















