बोष्टनको उद्यमशीलता प्रतियोगितामा नेक्सस टेक सोलुसन पहिलो
चितवन, ७ फागुन ।
भरतपुरको बोष्टन इन्टरनेशनल कलेजले आयोजना गरेको उद्यमशीलता प्रतियोगितामा नेक्सस टेक सोलुसन पहिलो भएको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरुको ६ वटा समूहले प्रतियोगितामा भाग लिएको थियो ।
शुक्रबार आयोजना गरिएको उद्यमशीलता प्रतियोगितामा कलेजमा व्यवस्थापन संकायतर्फ (एमबीए)को चौथो ट्राईमेस्टरमा ‘उद्यमशीलता र नवीनता’ विषय अध्ययन गरिरहेका विद्यार्थीहरु प्रतियोगितामा सहभागी थिए । करिब पाँच महिनाको अध्ययन र परिश्रमलार्ई प्रदर्शन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा पहिलो भएको नेक्सस टेक सोलुसनले आफ्नो व्यवसाथ दर्ता गर्न लाग्ने खर्चको सबै रकम कलेजबाट प्राप्त गर्ने भएको छ ।
त्यस्तै, प्रतियोगितामा नेपिसीन समूह दोस्रो भएको छ । प्रतियोगितामा दोस्रो भएको नेपिसीन समूहले आफ्नो व्यवसाय दर्ता गर्दा लाग्ने खर्चको ८० प्रतिशत रकम कलेजबाट प्राप्त गर्ने उद्यमशीलता र नवीनता विषयका अध्यापक प्रेम गैरेले जानकारी दिए ।
शुक्रबार भएको प्रतियोगितामा बिआईसी स्टार्टअप्सका प्रमुख एवं उद्यमशीलता र नवीनता विषयका अध्यापक प्रेम गैरेले स्वागत मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा निर्णायक को भूमिकामा चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष मदन घिमिरे, उद्यमशीलता परामर्शदाता सुमेधा गौतम मैनाली एवं बोष्टन कलेजका एसोसिएट डाईरेक्टर तथा उद्यमशीलताका वरिष्ठ प्राध्यापक पुष्पराज अधिकारी थिए । कार्यक्रमको अध्यक्षता बोस्टनका एमबीए कार्यक्रम निर्देशक ऋषि चापागाईले गरेका थिए ।
























