भन्सार छलेर ल्याएको सामान बरामद
नवलपुर, २० फागुन ।
सामान खरिदको बिल बिनानै ल्याइएको रु तीन लाखभन्दा बढीको सामान प्रहरीले बुधबार साँझ बरामद गरेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ को राजमार्गमा सवारी साधनको जाँच गर्ने क्रममा भन्सार छलेर ल्याइएको रु तीन लाख बढीको लत्ता कपडा बरामद गरेको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेका विभिन्न सवारी साधनहरुमा रहेको झोलाको पोकामा शङ्का लागेर प्रहरीले खोजतलास गर्दा बिना बिलका कपडाहरु बरामद भएको जिल्लाका प्रहरी प्रवक्ता दीलिपकुमार गिरीले जानकारी दिनुभयो । गिरीकाअनुसार प्रहरीले जाँच गर्दा रु तीन लाख ३१ हजार २०० मूल्य बराबरका कपडाहरु फेला परेका थिए । खोजतलासका क्रममा २० मिटर लम्बाईका ९३ थान कुर्थाको कपडा, १६ थान धोती (साडी) र ५५५ थान चुन्डी (सल) बरामद गरिएको गिरीले जानकारी दिनुभयो ।
बरामद गरिएका सबै सामान आवश्यक कारवाहीका लागि जिल्लाको महेशपुर भन्सार कार्यालय पठाइएको उहाँले बताउनुभयो ।


















