मोरङमा थप्पड हान्दा श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ
मोरङ,२५ फागुन ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–५ गौशाला टोलका ४४ वर्षीय विष्णु ऋषिदेवमाथि पत्नी हत्याको आरोप लागेको छ।
उनको कुटपिटबाट श्रीमती ३३ वर्षीया सावित्री दाहाल (ऋषिदेव)को ज्यान गएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए। उनका अनुसार आफ्नै घरको कोठाभित्र महिला मृत अवस्थामा रहेको जानकारी प्रहरीलाई गत आइतबार राति ८ बजेतिर आएको थियो। त्यस लगत्तै घटनास्थलमा पुगेको प्रहरीले मृत्युलाई शंकास्पद मान्दै घटनास्थल मुचुल्का तयार पारेर शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लग्यो।
नाकबाट रगत बगिरहेको, घाँटीभन्दा तलको भागमा थिचेको डोब तथा अनुहार लगायत शरीरका विभिन्न भागमा चोट र निलडाम रहेको एवं ओछ्यानमा चुरा फुटेर छरिएको अवस्थामा बाँसको खाटमाथि लडिरहेको महिलाको शव फेला परेको जानकारी राईले दिए। घटनास्थल र शवको प्रकृति हेरेपछि मृत्युलाई अस्वभाविक मान्दै प्रहरीले सवित्रीका पति विष्णुलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ।
मृतक सावित्रीका काका रामबहादुर दाहालको किटानी जाहेरी दिएपछि पत्नी हत्यामा संलग्न विष्णु पक्राउ परेका हुन्। सुरुमा आफूले पनि मृत्यु भएको अवस्थामा श्रीमतीलाई पाएको बताएका उनले पछि मात्रै घटना स्वीकार गरेको डीएसपी राईले बताए। विष्णुविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन मंगलबार जिल्ला अदालतबाट म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकाल नेतृत्वको टोलीले गम्भीर रुपमा घटनाको अनुसन्धान गरिरहेको डीएसपी राईले बताए।
उनका अनुसार नियमित मादक पदार्थ सेवन गरेर झगडा गर्ने र आफूसँग पैसा मात्रै मागिरहने गरेकाले रिसको आवेगमा थप्पड हान्दा श्रीमतीको मृत्यु भएको विष्णुले स्वीकार गरेका छन्। झापड (थप्पड) हान्नसाथ भुइँमा ढलेपछि उठ्न नसकेको र नाकबाट रगत बगेर मृत्यु भएको विष्णुले प्रहरीलाई बताएका छन्।
प्रहरीले भने शरीरका अन्य भागमा पनि चोट रहेकाले हत्यामा हातको मात्रै प्रयोग नभएको हुनसक्ने जनाएको छ। डीएसपी राईले पोस्टमार्टम रिपोर्ट प्राप्त भएर पूर्ण रुपमा अनुसन्धान सकिएपछि घटनाको वास्तविकता प्रष्ट हुने जानकारी दिए।
वडा सदस्य गणेश चौधरीका अनुसार पारिवारिक आर्थिक अवस्था कमजोर रहेका विष्णुले सामान्य ज्याला मजदुरी गरेर परिवार धान्दै आएका थिए। भोजपुर माइती भएकी सावित्रीसँग १८ वर्षअघि विष्णुको अन्तरजातीय प्रेमविवाह भएको उनको भनाइ छ। विष्णु र सावित्रीका १७, १५ र १२ वर्षका छोरीहरु छन्।
१७ वर्षीया जेठी छोरीको बिहे भइसकेको वडा सदस्य चौधरीले बताए। उनका अनुसार १५ वर्षीया माइली छोरी शारीरिक रुपमा अपाङ्गता छिन्।


















