एक लाख बढी नगद सहित १० जना जुवाडे पक्राउ
नवलपुर, २४ वैशाख ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । बिहीबार दिउँसो कावासोती–२ स्थित रुद्रलाल कँडेलको घरमा जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले रु एक लाख भन्दा बढी रकम सहित १० जनालाई पक्राउ गरेको हो ।
नर्मदा टोलीमा रहेको कँडेलको पुरानो घरमा भाडा गरी बस्ने भाग्य नारायण बैठाको कोठामा तास खेलीरहेको अवस्थामा उनीहरुको साथबाट रु एक लाख आठ हजार ६७५ तथा ५७० भारतीय रुपैयाँ र एक बुक तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी दिलीपकुमार गिरीले जानकारी दिनुभयो । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखेर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाइएको गिरीले बताउनुभयो ।
पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका–४ का ४६ वर्षीय विजय प्रसाद जैसवाल, सोही स्थानका ३५ वर्षीय अजय जैसवाल, बाराकै गढीमाई नगरपालिका–४ का ३१ वर्षीय सुरेन्द्र जैसवाल, रौतहटको कटहरिया नगरपालिका–५ का ३४ वर्षीय श्याम जैसवाल, बैदीमाई नगरपलिका–८ का ३६ वर्षीय फेरन्द्र कुमार यादव, फरुवा विजयपुर नगरपालिका–८ का ३० वर्षीय नरेश बैठा, विजयपुर नगरपालिका–२ का २८ वर्षीय सुनील जैसवाल, राजपुर कुडिया नगरपालिका–६ का ३७ वर्षीय विश्वनाथ प्रसाद जैसवाल, देवाही गोनही नगरपालिका–३ का ४५ वर्षीय सोनालाल जैसवाल तथा भारतको मोतिहारी जिल्ला ग्राम भगवानपुरका ४३ वर्षीय भाग्य नारायण बैठा रहेका प्रहरीले जनाएको छ ।


















