बारामा एकै परिवारका नाबालक दाजुभाइको घाँटी रेटी हत्या
बारा, ४ जेठ ।
बारामा एकै परिवारका दुई नाबालक दाजुभाइको हत्या भएको छ । सोमबार राति हत्या भएका दाजुभाइमा कलैया उपमहानगरपालिका–७ रंगपुर गाउँका अब्दुल गफारका ९ वर्षीय छोरा उसमान मियाँ र ७ वर्षीय अमिन रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार उनीहरुको शव घाँटी रेटिएको अवस्थामा फेला परेको छ । सोही वडाको मदरसा नजिकै उनीहरुको शव फेला परेको हो ।
मृतक बच्चाहरुको बाबु वैदेशिक रोजगारीको क्रममा कतारमा छन् । घरमा आमा, एक दिदी र दुई दाजुभाइ थिए ।
सोमबार मृतक बालकहरुको आमा छिमेकीको मृत्यु संस्कारमा गएकी थिइन् । घटनास्थलमा अहिले प्रहरी पुगेको छ र शव पोस्टमार्टमका लागि कलैया अस्पताल लग्ने तयारी भएको छ ।
मदरसा नजिक शव फालिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरी र मेयर राजेश यादवलाई खबर गरेपछि अनुसन्धान सुरु भएको हो । कलैया उपमहानगरका मेयर मृतक बालकहरुको छिमेकी हुन् ।
मेयर यादवले घरबाट राति ८ बजे एक जनाले दुवै बालकलाई बोलाउन गएको र त्यसपछि लगेर हत्या गरिएको जानकारी पाएको जानकारी दिएका छन् । प्रहरीले थप अनुसन्धान अगाडि बढाएको र प्रारम्भिक अनुसन्धानअनुसार रिइबीका कारण घटना घटेको खुलेको जनाएको छ ।


















