भारतमा कालो ढुसी प्रकोपको रुप लिँदै, २१९ जनाको मृत्यु
काठमाडौँ,७ जेठ।
कोरोनाभाइरसको कहरका बीच म्युकोर्माइकोसिस अर्थात् ब्ल्याक फंगस वा कालो ढुसी द्रुतगतिमा फैलिँदै गएको छ। भारतमा हालसम्म विभिन्न राज्यहरुमा कालो ढुसीका संक्रमित सात हजार २५१ जना पुगेका छन् भने मृत्यु हुनेको संख्या २१९ रहेको भारतीय संचार माध्यमहरुले जनाएका छन्।
यसैगरी, बिहीबार केन्द्रीय सरकारले महामारी ऐन १८९७ अन्तर्गत कालो ढुसी वा ब्ल्याक फंगसलाई महामारीको घोषणा गर्नु पर्ने बताएको छ। यसैबीच, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले शहरका लोक नायक, जीटीबी र राजीव गान्धी तीन सरकारी अस्पताललाई कालो ढुसीको डेडिकेटेड अस्पातलको रुपमा घोषणा गरेका छन् ।
यसअघि राजस्थान सरकारले कालो ढुसीलाई महामारीको रूपमा घोषणा गरिसकेको छ ।
हेर्नुहोस्, कालो ढुसीबाट सबैभन्दा बढी प्रभावित १० राज्यहरूको सूची
– महाराष्ट्र राज्यमा म्युकोर्माइकोसिसका १५०० संक्रमित फेला परेका छन् भने यहाँ ९० जनाको मृत्यु भइसकेको छ।
– गुजरातमा ११६३ जनालाई संक्रमण भएको छ र ६१ जनाले कालो ढुसीका कारण ज्यान गुमाउनु परेको छ।
– मध्यप्रदेश राज्यमा म्युकोर्माइकोसिसका ५७५ संक्रमित फेला परेका छन् भने ३१ जनाले ज्यान गुमाउनु परेको छ।
– हरियाणामा २६८ जनालाई संक्रमण भएको छ र ८ जनाले कालो ढुसीका कारण ज्यान गुमाउनु परेको छ।
– भारतको राजधानी दिल्लीमा म्युकोर्माइकोसिसका २०३ संक्रमित फेला परेका र १ जनाले कालो ढुसीका कारण ज्यान गुमाउनु परेको छ।
– उत्तरप्रदेश राज्यमा म्युकोर्माइकोसिसका १६९ संक्रमित फेला परेका छन् भने ८ जनाले ज्यान गुमाउनु परेको छ।
– बिहार राज्यमा म्युकोर्माइकोसिसका १०३ संक्रमित फेला परेका छन् भने २ जनाले ज्यान गुमाउनु परेको छ। – छत्तिसगढ म्युकोर्माइकोसिसका १०१ संक्रमित फेला परेका र १ जनाले कालो ढुसीका कारण ज्यान गुमाउनु परेको छ।
– कर्नाटकमा ९७ जनालाई संक्रमण भएको छ।
– तेलंगानामा ९० जना कालो ढुसीबाट संक्रमित छन् भने १० जनाली ज्यान गुमाएका छन्।
के हो म्युकोर्माइकोसिस ?
यो एक प्रकारको निकै विरलै देखिने सङ्क्रमण हो। यो सामान्यतया माटो, बोटविरुवा, मल र कुहिएका फलफूल तथा तरकारीमा हुने म्युकोर भनिने ढुसीसँगको संसर्गबाट सर्ने गर्दछ। यसले साइनस, मस्तिष्क र फोक्सोमा असर गर्छ र यो प्राणघातक पनि हुनसक्छ । विशेषगरी डाइबेटिक अथवा शरीरको रोगप्रतिरोधी क्षमतामा गम्भीर कमजोरी देखिएका क्यान्सर वा एचआईभी एड्सका बिरामीहरूका लागि।
चिकित्सकहरूको विश्वासमा म्युकोर्माइकोसिस, जसको समग्र मृत्युकारक दर ५० प्रतिशत जति हुन्छ, स्टेरोइड औषधिको प्रयोगका कारण देखापर्न थालेको हुनसक्छ। कोभिड–१९ का गम्भीर अवस्थाका बिरामीलाई ज्यान जोगाउने औषधिका रूपमा हाल स्टेरोइडको पनि प्रयोग भइरहेको छ। स्टेरोइडहरूले कोभिड–१९ का बिरामीहरूको फोक्सोमा देखिने इन्फ्लामेशन अर्थात् सुजनलाई कम गर्छन् र तिनले शरीरको रोगप्रतिरोधी प्रणाली कोरोनाभाइरससँग जुध्न अति सक्रिय अवस्थामा पुग्दा त्यसबाट पुग्नसक्ने केही क्षतिलाई रोक्न सघाउने देखिएको छ।
तर तिनले रोगप्रतिरोधी क्षमतालाई पनि कमजोर गराउँछन् र रगतमा चिनीको मात्रा, ब्लड सुगर लेभल, बढाउँछन्। यस्तो डाइबिटिज भएका वा डाइबिटिज नभएका दुवैथरी कोभिड–१९ का बिरामीहरूमा हुन्छ। यसरी रोगप्रतिरोधी क्षमतामा देखिने कमी नै म्युकोर्माइकोसिसको कारक हुन सक्ने ठानिएको छ।
डाइबिटिजले शरीरको रोगविरुद्ध लड्ने क्षमतलाई कमजोर तुल्याउँछ, कोरोनाभाइरसले त्यो अवस्थालाई झन् खराब बनाउँछ र त्यसमा कोभिड–१९ सँग लड्न सघाउने स्टेरोइडले झन् आगोमा घ्यू थपेको जस्तो काम गर्ने मुम्बईका एक नेत्र शल्यचिकित्सक डा. अक्षय नायर बताउँछन्।


















