भारतमा पछिल्लो २४ घण्टामा ४ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु
एजेन्सी, १२ जेठ।
भारतमा पछिल्लो २४ घण्टामा ४ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । त्यस्तै दैनिक संक्रमितको संख्या फेरि २ लाख नाघेको छ । मंगलबार चालिस दिपछि २ लाखमुनि पुगेको दैनिक संक्रमितको संख्या बुधबार भने पुन: २ लाख नाघेको हो ।
भारतको केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार १५७ जना कोरोना संक्रमितको ज्यान गएको छ । सो अवधिमा २ लाख ८ हजार ९२१ नयाँ संक्रमित थपिएको र २ लाख ९५ हजार ९५५ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो १५ दिनमा भारतमा ६० हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । एक हप्ताअघि अहिलेसम्मकै धेरै अर्थात् ४ हजार ५२९ जनाको कोरोनाबाट मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणबाट कुल ३ लाख ११ हजार ३८८ जनाले ज्यान गुमाएका छन् ।
पछिल्लो आंकडासँगै अहिलेसम्म २ करोड ७१ लाख ५७ हजार ७९५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । यसमध्ये २ करोड ४३ लाख ५० हजार ८१६ जना संक्रमणमुक्त भएका छन् ।
हाल भारतमा सक्रिय संक्रमितको संख्या २४ लाख ९५ हजार ५९१ रहेको छ । साथै, २० करोड ६ लाख ६२ हजार ४५६ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।
सोमबार हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ३ लाख नाघेको थियो । कोभिड-१९ बाट मृत्यु हुनेको कुल संख्या ३ लाखभन्दा बढी भएका मुलुकमा अमेरिका र ब्राजिलपछि भारत तेस्रो स्थानमा छ ।


















