नेपालमा अक्सिजन प्लान्ट निर्माण गर्न प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाको सहयोग
अष्ट्रेलिया, १७ जेठ ।
प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाले नेपालमा अक्सिजन प्लान्ट, भेन्टिलेटर र अक्सिजन कन्सन्ट्रेटर पठाउनका लागि ४६ हजार अष्ट्रेलियन डलर सहयोग सङ्कलन गरी पठाएको छ । संस्थाले एक विज्ञप्ति जारी गर्दै केही समय अघिदेखि सुरु गरिएको सहयोग सङ्कलन हाललाई स्थगित गरिएको समेत जनाएको छ ।
संस्थाका अध्यक्ष रमेश पाण्डेले हस्ताक्षर गरेको विज्ञप्तिमा कोरोनाको दोस्रो लहरले सम्पूर्ण रुपमा देशलाई निकै चपेटामा पारेको महशुस गर्दै सहयोगका लागि हातेमालो गरेको उल्लेख छ । सङ्कलित ४६ हजार डलर मध्ये २५ हजार अष्ट्रेलियन डलर (अष्ट्रेलिया / न्यूजिल्याण्ड) अन्तर्राष्ट्रिय प्रवासी नेपाली एकता मञ्चसँगको सहकार्यमा नेपालमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि पठाइएको र अहिले यसबाट चीनमा अक्सिजन प्लान्ट खरिद गरी नेपाल लैजाने लागिएको पनि जानकारी गराइएको छ ।
त्यस्तै यस्तै १५ हजार डलर पर्ने भेन्टिलेटर एक थान र पाँच थान १० लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर (६ हजार डलर बराबर) को समेत प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाको तर्फबाट नेपालमा सहयोग गरिएको जानकारी विज्ञप्तिमा गराइएको छ । अक्सिजन प्लान्ट चीनमा खरिद भई त्यसको प्राविधिक परीक्षणको अवस्थामा रहेको र छिटोभन्दा छिटो यसलाई नेपालमा पठाई नेपाल सरकारलाई हस्तान्तरण गर्ने योजना रहेको पनि अध्यक्ष पाण्डेले जानकारी दिए ।
विज्ञप्तिमा अघि भनिएको छ, “यसबीच नेपाल सरकारले अक्सिजनको आपूर्तिलाई सहज बनाइसकेको खबरहरु आइरहेका छन् । तर, यी सामग्रीहरु भविष्यमा समेत आइपर्ने यस्तै सङ्कटको बेला आम सर्वसाधारण नेपालीरुले प्रयोग गर्न पाउनेगरी हामीले हन्तान्तरण गर्दैछौँ । यो महान कार्यमा जोडिनुभएका अष्ट्रेलिया निवासी सबै नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ। हाललाई सहयोग सङ्कलनको कार्य स्थगित गरिएको पनि यसै विज्ञप्ति मार्फत जानकारी गराउँदछौँ ।”



















