बलिउडका पुराना अभिनेता चन्द्रशेखरको निधन
काठमाडौं २ असार ।
बलिउडका पुराना अभिनेता चन्द्रशेखरको ९७ वर्षको उमेरमा निधन भएको छ। उनको बुधबार बिहान निधन भएको हो।
चन्द्रशेखरका छोरा अशोकले आफ्ना बुवाको मृत्यु भएको जानकारी दिएका छन्। अशोकका अनुसार चन्द्रशेखरलाई बहीबार अस्पताल भर्ना गरिएको थियो।
आफ्नो फिल्मी करियरमा उनले करिब २५० चलचित्रमा काम गरेका छन्। उनले नायकको रुपमा पहिलो पटक सन् १९९३ मा रिलिज भएको चलचित्र ‘सुरंग’मा काम गरेका थिए।
उनले ‘गेटवे अफ इण्डिया’ (१९५७), ‘फेशन’ (१९६०) लगायत कैयौँ चलचित्रमा सहायक अभिनेताका रुपमा काम गरेर लोकप्रियता हासिल गरेका थिए।
यस्तै उनले सन् १९६४ मा रिलिज भएको चलचित्र (चा चा चा)मा मुख्य भूमिका निभाएका थिए। उनले यस चलचित्रको निर्माण र निर्देशन पनि आफैले गरेका थिए।
चन्द्रशेखर सन् १९८५ देखि १९९६ सम्म सिने आर्टिस्ट एशोसिएसनका अध्यक्षसमेत थिए।
उनको जन्म सन् १९२३ जुलाई ७ मा हैदरावादमा भएको थियो।


















