मोरङमा आफ्नै बाबुको हत्याको आरोपमा छोरा पक्राउ
विराटनगर,१३ असार।
मोरङमा आफ्नै बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।
सुनवर्षी नगरपालिका–४ का ४० वर्षीय दयालु ताजपुरियाले मदिराको नशामा ढुंगाले हानेर बाबु ६८ वर्षीय टिनताल ताजपुरियाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
कार्यालयका निमित्त प्रमुख डीएसपी मञ्जील मुकारुङले घरायसी विवादमा बाबु सुतिरहेको स्थानमा पुगेर ढुंगाले हानेको अनुसन्धानबाट खुलेको जानकारी दिए ।
घटनामा गम्भीर घाइते भएका टिनताललाई उपचारार्थ कोसी अस्पताल विराटनगर ल्याइएको थियो । त्यहाँबाट सुविधासम्पन्न अस्पतालमा रेफर गरिए पनि उनलाई घरमै लगेर राखिएकोमा आइतबार बिहान साढे ५ बजेतिर मृत्यु भएको बताइएको छ ।
कोसीले सुविधासम्पन्न अस्पताल लैजान रेफर गरेको तर कमजोर आर्थिक अवस्थाका कारण लैजान नसकी घर लगेर राख्दा त्यहीँ मृत्यु भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दयालुमाथि कर्तव्य ज्यान मुद्दा चलाउन प्रक्रिया अघि बढाइएको छ ।


















