युरोकप २०२० को क्वाटरफाइनल समीकरण पूरा
युरोकप २०२० को क्वाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राति अन्तिम १६ का दुई खेल सकिएसँगै क्वाटरफाइनल पुग्ने ८ वटै टिमको टुङ्गो लागेको छ ।मंगलबार राति भएको खेलमा इंग्ल्याण्डले जर्मनीलाई २-० ले र युक्रेनले स्वीडेनलाई २-१ ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाए । साथै क्वाटरफाइनलको समीकरण पनि तय भएको छ । इंग्ल्याण्डले अब क्वाटरफाइनलमा युक्रेनसँगै खेल्नेछ । यस्तै यसअघि नै अन्य तीन क्वाटरफाइनल खेलको समीकरण तय भइसकेको छ । जसमा बेल्जियमले इटलीसँग खेल्नेछ भने स्विट्जरल्याण्डले स्पेनसँग खेल्नेछ । यस्तै चेक रिपब्लिक र डेनमार्कबीच अर्को क्वाटरफाइनल खेल हुनेछ । क्वाटरफाइनलमा बेल्जियम र इटलीबीचको विजेता अनि स्पेन र स्विट्जरल्याण्डबीचको विजेताले सेमिफाइनल खेल्नेछ। अर्कोतर्फ इंग्ल्याण्ड र युक्रेनबीचको विजेता तथा चेक र डेनमार्कबीचको विजेताले अर्को सेमिफाइनल खल्नेछन् । साविक विजेता पोर्चुगल, साविक उपविजेता फ्रान्स अनि सर्वाधिक ३ पटकको विजेता जर्मनी भने अन्तिम १६ बाटै आउट भएका छन् ।
क्वाटरफाइनलका खेलहरु जुलाई २ देखि सुरु हुनेछ ।




















