अमेरिकी आक्रमणपछि इरानको जवाफी कारबाही, खाडी क्षेत्रमा मिसाइल र ड्रोन प्रहार गरेको दाबी
चितवन, २८ आषाढ । अमेरिका–इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी हवाई आक्रमणपछि इरानले खाडी क्षेत्रका विभिन्न देशमा रहेका अमेरिकी सैन्य उपस्थितिलाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गरेको छ।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इरानले बहराइन, कुवेत, कतार, संयुक्त अरब इमिरेट्स (यूएई) लगायत अमेरिकी सैन्य उपस्थिति रहेका क्षेत्रमा मिसाइल तथा ड्रोन प्रहार गरेको जनाएको छ।
यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले ओमानको डुक्म बन्दरगाहस्थित अमेरिकी विमानवाहक युद्धपोतलाई सहयोग गर्ने रसद तथा इन्धन आपूर्ति केन्द्रमा ‘भारी र आकस्मिक’ आक्रमण गरेको दाबी गरेको छ। इरानको सरकारी प्रसारक आईआरआईबीका अनुसार उक्त आक्रमणबाट ती रसद र इन्धन आपूर्ति केन्द्र पूर्ण रूपमा ध्वस्त भएका छन्।
आईआरजीसीले यो कारबाहीलाई अमेरिकाले इरानमाथि गरेको बमबारीको जवाफस्वरूप सञ्चालन गरिएको प्रतिकारात्मक अभियानको तेस्रो चरण भएको जनाएको छ।
यद्यपि, इरानका यी दाबीहरूलाई ओमान सरकार वा अमेरिकी पक्षले स्वतन्त्र रूपमा पुष्टि गरेका छैनन्। घटनाबाट भएको क्षति तथा सम्भावित मानवीय हताहतीबारे पनि कुनै आधिकारिक विवरण सार्वजनिक भएको छैन।
यस घटनाले अमेरिका–इरानबीचको द्वन्द्व अझ गहिरिँदै खाडी क्षेत्रको सुरक्षा अवस्था थप जटिल बन्न सक्ने संकेत गरेको छ।
























