पेनाल्टीमा चुक्दा रिस उठ्यो, अब अर्को विश्वकप सुरु भएको छ : मेसी
काठमाडौँ, १५ मंसिर । कतार विश्वकपको अन्तिम–१६ मा स्थान पक्का गरेपछि अर्जेन्टिनाका कप्तान लियोनल मेसीले अर्को विश्वकप सुरु भएको बताएका छन् । पहिलो खेलमा साउदी अरबसँग पराजित भएपछि अर्जेन्टिनाको नकआउट चरण पुग्ने समीकरण कठिन बनेको थियो । तर, दोस्रो खेलमा मेक्सिको र अन्तिम खेलमा पोल्यान्डलाई समान २–० को नतिजामा हराउँदै अर्जेन्टिनाले विश्वकप २०२२ को अन्तिम–१६मा स्थान पक्का गरेको छ । “पेनाल्टीमा चुक्का रिस उठेको छ । तर मेरो त्यो गल्तीपछि टोली अझ बलियो भयो । हामीलाई थाहा थियो कि एक गोल भएपछि खेल परिवर्तन हुनेछ,’’ मेसीले खेलपछि भने, “अघिल्लो खेलको नतिजाले हामीलाई धेरै मानसिक शान्ति दियो । हामी जित्नुपर्छ भन्ने सोचेर मैदानमा निस्कियौँ ।’’ अर्जेन्टिनाले ३९औँ मिनेटमा पेनाल्टीको अवसर पाएको थियो । तर, मेसीको प्रहारलाई पोल्यान्डका गोलपिकर वोइच चेजनीले बचाइदिएका थिए । जारी विश्वकपमा चेजनीले पेनाल्टी बचाएको यो दोस्रो पटक हो । यसअघि साउदी अरबविरुद्ध पनि चेजनीले सलिम अल दासरीको पेनाल्टी बचाइदिएका थिए । विश्वकपको एकै संस्करणमा दुई पेनाल्टी बचाउ गर्ने चेजनी दोस्रो गोलकिपर बनेका छन् । यसअघि १९६६ मा फ्रान्सका जोल बोटले यस्तो सफलता हासिल गरेका थिए ।